बिर्तामोड । झापाको बिर्तामोड ७ स्थित खेपबाडीमा आयोजना गरिएको न्यू स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिता अविरल वर्षाका कारण खेल स्थानमा क्षति पुगेकाले स्थगित भएको छ ।
यही असोज १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता कात्तिक ३ गतेदेखि १० गतेसम्म हुने भएको छ । आयोजक न्यु स्टार क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूका अनुसार झापामा जारी भारी वर्षाका कारण प्रतियोगिता सरेको हो ।
लगातारको वर्षाले खेल मैदानमा क्षति पुगेको छ भने देउनिया खोलामा आएको बाढीले ह्युपपाइप बगाएको छ । स्थानीय सुन्दर निचाझोडा वनको खोपबाडी खेलमैदान स्तरोन्नतिको काम सकेर प्रतियोगिताको अन्तिम तयारी गरिएको थियो ।
प्रतियोगितामा झापाका आठ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित आकर्षक ट्रफी पाउनेछ । यसैगरी, प्रत्येक खेलको प्लेयर अफ द म्याच बन्ने खेलाडीले नगद २ हजार पाउने छन् ।
विधागततर्फ पाँचवटा विधामा जनही ३३ सय र बेस्ट प्लेयर बन्ने खेलाडीले ट्रफीसहित नगद ५ हजार पाउने आयोजकले जनाएको छ । करिब ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।