काठमाडौँ । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त वडा नं १६ र वडा नं १२ बिच हुने भएको छ ।
लैनचौर फुटसल मैदानमा मङ्गलबार भएको पहिलो सेमिफाइनलमा वडा १६ ले वडा नं ६ लाई २–१ ले हरायो । नामोडुल सान्बो लामाको गोलबाट वडा ६ ले अग्रता बनाएको थियो । तर रविन निरौलाले दुई गोल गर्दै वडा १६ लाई फइनलमा पुर्याए । रविन नै खेलको म्यान अफ दि म्याच बने ।
त्यस्तै दोस्रो सेमिफाइनलमा वडा नं १२ ले वडा नं २ लाई २–० ले पराजित गर्यो । विजयी टिमका लागि दुवै गोल मनोज महर्जनले गरे । सो खेलमा मनोज नै म्यान अफ द म्याच चुनिए ।
काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा गत असाज १ गते देखि जारी प्रतियोगिताको विजेता टिमले ट्रफीसहित दुई लाख रुपियाँ प्राप्त गर्नेछ । उपविजेता टिमलाई एक लाख रुपियाँ प्रदान गरिनेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ । फाइनल बुधबार बिहान ९ बजे हुनेछ ।