
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
१५औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रुपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे ।
‘कुनै पनि समाज, नगर र देशको विकासमा खेलकुदको भूमिका निक्कै ठूलो रहने गर्छ । विश्वका धेरै ठूला सहर र देशको पहिचान खेलकुदले बोकेका छन्,’ मेयर कार्कीले भने, ‘खेलकुद कुनै पनि समाजको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि महत्वपूर्ण माध्यम हो । हामीले पनि खेलकुदको माध्यमबाट सुसंस्कृत कागेश्वरी मनोहरा बनाउने अभियान थालेका छौं ।’
मेयर कार्कीले संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँगको सहकार्यमा नगरभरी नै खेलकुदका पूर्वाधारहरु बनाएर नगरपालिकालाई खेलकुद नगरका रुपमा स्थापित गर्ने बताए ।
‘सरकार, राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय र विभिन्न राष्ट्रिय खेल संघहरु रंगशाला, कभर्डहल र एकेडेमी बनाउनका लागि ठाउँ भएन भनेर गुनासो गरिरहेका छन् । हामीसँग नगरपालिकाभित्र थुप्रै खाली जग्गाहरु छन्, जहाँ खेलकुदका पूर्वाधार बनाएर कागेश्वरी मनोहरालाई खेलकुद सहरका रुपमा चिनाउन सकिन्छ,’ उनले थपे, ‘कागेश्वरी मनोहरा खेलकुदकै माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिनेछ ।’
संघीय सरकार, प्रदेश सरकार र नीजि क्षेत्रसँगको सहकार्यमा खेलकुदका आधुनिक तथा सुविधासम्पन्न एकेडेमी र रंगशाला तथा कभर्डहलहरु बनाएर त्यसको मुनाफा सबै पक्ष बाढ्ने मोडलमा काम गर्ने बताए ।
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने