काठमाडौं । नेपाल विरुद्धको दुई मैत्रीपुर्ण फुटबल म्याचका लागि भारतीय पुरुष राष्ट्रिय फुटबल टोली सोमबार काठमाडौं ओर्लिएको छ । भारतीय टोलीले नेपालसँग यहि भदौं १७ र २० गतेका दिन दशरथ रंगशालामा दुई मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।
भारतीय टोली यसअघि अन्तिमपटक सन् २०१५ मा नेपाल आएको थियो । सन् २०१८ को फिफा विश्वकप छनौटको प्ले अफ खेल्न नेपाल आएको भारतीय टोलीले त्यतिबेला नेपालसँग गोलरहित बराबरी खेलेको थियो । यद्यपि पहिलो लेगमा हात पारेको २–० को जितको नतिजाले भारत छनौट प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको थियो ।
भारतीय फुटबल टोलीले मंगलबारदेखि नैै अभ्यास थाल्ने बताइएको छ । यसअघि कोलकातामा दुई साताभन्दा बढी बन्द प्रशिक्षणमा रहेको भारतीय टोलीले त्यहाँ खेलेको दुई प्रदर्शनी खेलमा जित समेत हात पारेको थियो । पहिलो खेलमा इण्डियन फुटबल एसोसिएशन –आइएफए) लाई १–० ले हराएको थियो भने दोस्रो खेलमा चर्चित आइ लिग क्लब मोहम्मदन स्र्पोटिङ क्लबलाई २–० ले पराजित गरेको थियो ।
यता नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पनि पोखरामा लामो समय बन्द प्रशिक्षण गरेको थियो । भारत विरुद्धको दुई मैत्रीपुर्ण खेलपश्चात नेपाल थप प्रशिक्षणका लागि कतार जाने कार्यक्रम पनि छ । स्मरण रहोस, नेपाल र भारत दुवै टोली आगामी अक्टुबर पहिलो सातादेखि शुरु हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपको तयारीमा पनि छन् ।
(तस्विरः इण्डियन फुटबल टिम)
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै