News तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई
गोलनेपाल

चितवन । हानामी तेस्रो चितवन गोल्डकप फुटबलको उपाधि एप्पल गुरु सूर्यपुर एफसी कालिकाले जितेको छ । आज सम्पन्न उपाधि भिडन्तमा आयोजक हानामी भरतपुर फुटबल क्लब बिएफसीलाई हराउँदै सूर्यपुर च्याम्पियन बनेको हो ।

नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा सूर्यपुरलाई जिताउन लक्षु थापा र अविनास स्याङताङ्गले एक-एक गोल गरे । खेलको ७३ औं मिनेटमा लक्षुको गोलमा सूर्यपुरले अग्रता लिएको थियो ।

अतिरिक्त समयमा सूर्यपुरले पेनाल्टी पायो। बिएफसीका विवेक मगरले दिपेश गुरुङलाई बक्सभित्र लडाएपछि सूर्यपुरले पेनाल्टी पाएको थियो । प्राप्त पेनाल्टीमा अविनासले गोल गर्दै जित सुनिश्चित गरे । सूर्यपुरका लक्षु थापा फाइनल खेलको केल्मी प्लेयर दि म्याच बने ।

विजेता सूर्यपुरले ट्रफीसहित ६ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित बिएफसीले ३ लाखमा चित्त बुझाएको छ । विधागत उत्कृष्टतर्फ सूर्यपुरका अविनास स्याङताङ्ग प्रतियोगिताभरको उत्कृष्ट खेलाडी बने । उनले ४० हजार रुपैयाँ प्राप्त गरे ।

Post Comments