काठमाडौं । सातदोबाटो एफसीले पहिलो महिला इम्पाएर कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ।
इम्पाएर स्पोर्ट्स एकेडेमीको आयोजनामा तथा ह्वाइट मुनको मुख्य प्रायोजनमा भाद्र २७ गते सम्पन्न प्रतियोगिताको फाइनलमा सातदोबाटो एफसीले बुमर्याङ एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो।
फाइनल खेलमा सातदोबाटोले सुरुवातदेखि नै प्रभावशाली प्रदर्शन गर्दै बुमर्याङमाथि दबाब कायम राखेको थियो। सोही प्रदर्शनलाई निरन्तरता दिँदै सातदोबाटोले दुई गोल गर्न सफल भयो र उपाधि उचाल्यो।
उपाधिसँगै सातदोबाटो एफसीले नगद रु. १ लाख सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बुमर्याङ एफसीले भने रु. ५० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ बुमर्याङ एफसीकी बब्तिका कार्की उत्कृष्ट खेलाडी घोषित भइन्। उनले नगद रु. ५ हजार सहित ट्रफी प्राप्त गरिन्। त्यस्तै, सातदोबाटो एफसीकी कविता विक उत्कृष्ट गोलरक्षक घोषित भइन्। उनले पनि नगद रु. ५ हजार सहित ट्रफी प्राप्त गरिन्। प्रतियोगिताकी सर्वाधिक गोलकर्ता सातदोबाटो एफसीकी विमला चौधरी बनिन्। उनले नगद रु. ५ हजार सहित ट्रफी प्राप्त गरिन्।
प्रतियोगितामा कुल १२ टोलीको सहभागिता रहेको थियो। लिग चरणदेखि नै प्रतिस्पर्धात्मक बनेको प्रतियोगिताको फाइनल खेल भने भव्य, सभ्य तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। पहिलो संस्करणमै महिला फुटसलतर्फ खेलाडी तथा टोलीहरूको उत्साहजनक सहभागिता रहेको प्रतियोगिताले महिला फुटसलको विकास र प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास गरिएको छ।