News मिलन आलेको पाँच गोलसँगै आयोजक सञ्जिवनी सेमिफाइनलमा
सुरज राना मगर

बागधुरा । एकतर्फी जितका साथ आयोजक सञ्जिवनी युवा क्लब, बागधुरा रुपन्देहीमा जारी स्व. बोध प्रसाद पराजुली स्मृति आठौं सञ्जिवनी कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा सञ्जिवनीले न्यु सृजना युवा क्लब, करौजियालाई ६–२ को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

तिलोत्तमा–१४, बागधुरा स्थित सञ्जिवनी खेलमैदानमा भएको खेलमा सञ्जिवनीका लागि मिलन आलेले ह्याट्रिकसहित एक्लैले पाँच गोल गरे । त्यस्तै थप एक गोल भने निर थापाले गरेका थिए । उता पराजित न्यु सृजनाका लागि भने नबिन महतो र अमित कठरियाले समान एक–एक गोल गरेका थिए । खेलमा सञ्जिवनीका मिलन आले नै म्यान अफ दि म्याच बने ।

शुक्रबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा । सञ्जिवनीले अब माघ २५ गते हुने दोस्रो सेमिफाइनलमा शहरी प्रतिद्वन्द्वी लिस्नु युवा क्लब, कोटिहवाको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत माघ २४ गते शनिबारको पहिलो सेमिफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र अमुवा युवा क्लब, अमुवाबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।

Post Comments