सरावल । बसन्त युवा क्लब, सरावल गाउँपालिका, नवलपरासीको आयोजनामा सम्पन्न आठौं वसन्त कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि भैरव स्पोर्टस क्लब, नवलपरासीले जितेको छ ।
शुक्रबार सम्पन्न फाइनलमा भैरवले युनाइटेड युवा क्लब, गिरुबारीलाई २–० ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । बसही रंगशालामा भएको खेलमा भैरवका लागि बिमल घर्ती मगर र जीवन पुनले गोल गरे ।
विजेता बनेको भैरवले उपाधिसहित नगद १ लाख १५ हजार हात पार्दा उपविजेता युनाइटेडले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यस्तै विधागततर्फ फाइनल खेलको म्यान अफ दि म्याच र उत्कृष्ट गोलरक्षक भैरवका प्रतिक सुनार चुनिदा उत्कृष्ट डिफेन्डर युनाइटेडका उत्तम सिंजाली मगर बने । सर्वाधिक गोलकर्ताको पुरस्कार सुनवल एफसीका स्माइल गुरुङले हात पार्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भैरव कै निराजन खत्री घोषित भए ।