News साफ छाडेर एएफसी यु-२० महिला एसियन कप छ्नौटको तयारीमा भारत
गोलनेपाल

काठमाडौं । बंगलादेशमा हुने साफ यु-२० महिला च्याम्पियनसिप आयोजनाको संघारमा रहे तापनी यसपटक दक्षिण एसियाको परिचित पावरहाउस टोली भारतले भने सहभागिता जनाएको छैन ।

भारतले यसपटक साफ प्रतियोगितालाई छाडेर एएफसी यु-२० महिला एसियन कप छ्नौटको तयारीमा लागेको छ । त्यसका लागि भारतीय टोली उज्वेकिस्तान जाने भएको छ । त्यहाँ भारतको यु-२० महिला फुटबल टोलीले घरेलु टोली उज्वेकिस्तानसँग जुलाई १३ र १६ तारीखका दिन दुई मैत्रीपूर्ण म्याच खेल्नेछ ।

स्मरणीय रहोस, एएफसी यु-२० महिला एसियन कप छ्नौटतर्फ भारत समूह डी मा परेको छ । जहाँ भारतले आयोजक म्यानमारसहित तुर्कमेनिस्तान र इन्डोनेसियासँग खेल्ने कार्यक्रम छ ।

त्यस्तै एएफसी यु-२० महिला एसियन कप छ्नौटतर्फ नेपाल पनि सहभागी छ । छ्नौट प्रतियोगिताको समूह ए मा रहेको नेपालले आयोजक भुटानसहित बलियो उत्तर कोरिया, मंगोलिया र साउदी अरेबियासँग खेल्ने तय भईसकेको छ ।

उता बंगलादेशको राजधानी ढाकामा यही ११ देखि २१ जुलाईसम्म हुने साफ यु-२० महिला च्याम्पियनसिपमा भारतको सहभागिता नरहेपछी यसपटक आयोजक बंगलादेशसहित नेपाल, भुटान र श्रीलंका गरि दक्षिण एसियाका कुल चार टोली मात्र सहभागी छन । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ ।

 

 

Post Comments