काठमाडौं (एजेन्सी) । उपाधिको बलियो प्रत्याशी मध्ये एक पूर्व विजेता जर्मनी पनि आफ्नो समूह ई बाट लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गरेको छ ।
आफ्नो समूह चरणको दोस्रो खेलमा जर्मनीले आईभरी कोस्टलाई २–१ ले हरायो । यसअघि जर्मनीले आफ्नो पहिलो खेलमा कुरासाओमाथि ७–१ को फराकिलो जित हात पारेको थियो भने आईभरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गरेको थियो । त्यस्तै समूह ई कै अर्को खेलमा इक्वेडर र कुरासाओले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
यो नतिजापछि दुई खेलबाट ६ अंक जोडेको जर्मनी शिर्ष स्थानमा छ र एक खेल अघि नै नकआउट चरणमा प्रवेश गरेको छ । ३ अंक जोडेको आईभरी कोस्ट दोस्रो स्थानमा छ भने समान १–१ अंक जोडेका इक्वेडर र कुरासाओ क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
समूह ई मा जर्मनीपछि अन्य तीनै टोलीहरुको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना भने कायम छ । समूह चरणको अन्तिम खेलमा अब जुन २५ तारीखका दिन कुरासाओले आईभरी कोस्टसँग खेल्नेछ भने सोही दिन जर्मनीले इक्वेडरको सामना गर्नेछ ।