ANFA रोलिङ क्लब लिम्बूनी ठूली स्मृति कपको सेमिफाइनलमा
रमेश समदर्शी

झापा । झापाको अर्जुनधारा ३ स्थित खुदुनाबारीमा जारी स्व लिम्बूनी ठूली स्मृति कप २०८१ को आज भएको अन्तिम क्वार्टरफाइनल खेलबाट धुलाबारीको रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्थानीय कैदले प्राकृतिक रंगशालामा आज भएको खेलमा रोलिङ क्लबले टाइब्रेकरमार्फत ५-३ गाेलअन्तरले जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । स्पर्धी पकली सुनसरीको एपीएफ टिमसँग निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा एपीएफका यज्ञविक्रम मल्लको प्रहार रोलिङका गोलरक्षक युवराज पुरीले रोकेका थिए । एपीएफका लागि बलराम निरौला, धनबहादुर श्रेष्ठ र सञ्जर सरदारको प्रहारमात्र गोलमा परिणत भएको थियो ।

रोलिङका लागि सरोज कार्की, विशाल दर्जी, रुजन न्यौपाने, अरुण मेचे र आदित्य ढुंगेलको प्रहार गोलमा परिणत भएको थियो । एक प्रहार रोकेका गोलरक्षक युवराज पुरी प्लेयर अफ दी म्याच बन्दै नगद ३ हजार ५ सय पाउन सफल भए ।

वर्षौंअघि भुटानी शरणार्थी शिविरमा बस्दै आएकी लिम्बूनी ठूलीको स्मृतिमा च्यारिटी युथ क्लबले प्रतियोगिताको आयोजना गरेको हो । लिम्बूनी ठूलीको नामले परिचित आइतमाया सुब्बाको गतवर्ष पुनर्वासका क्रममा अमेरिका गएपछि निधन भएको थियो । उनका छोरा बाबी सुब्बा र परिवारले स्मृति कपका लागि प्रायोजन गरेका हुन् ।

बाबी सुब्बा यतिबेला पुनर्वासका क्रममा अमेरिकामा रहँदै आएका छन् । दिवंगत आमालाई अर्जुनधारा खुदुनाबारीबासीमाझ जिवन्त राख्दै नेपाली फुटबलको विकासमा सानो सहयोग गरेको उनको भनाइ छ । बाबी आफैँ पनि फुटबल खेलाडी र प्रशिक्षकसमेत हुन् । भोलि बिहीबार इलामको रेडहर्ष एफसीसँग जलथल एफसी झापाले पहिलो सेमिफाइनल खेल खेल्नेछ ।

 

Post Comments