ANFA आयोजक रारा सेमिफाइनलमा
गोलनेपाल

राजारानी । आयोजक रारा फुटबल क्लब, राजारानी, धनकुटा यहाँ जारी ११औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

शनिबार भएको तेस्रो क्वाटरफाइनलमा राराले भोजपुर जिल्ला फुटबल संघ, भोजपुरलाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

राजारानी खेलमैदानमा भएको खेलमा राराका लागि ग्लोरी, राम वजी र एसनले गोल गरे । उता पराजित भोजपुरका लागि भने दुवै गोल निशान लिम्बुले गरे । खेलमा राराका राम वजी म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ७ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत जेठ १३ गते आइतबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल सलहेश युवा क्लब, सिराहा र गोल्डेन स्टार युथ क्लब, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।

रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १६ गतेका दिन हुनेछ ।

Post Comments