चौबन्दी एफसी र आयोजक एकतप्पा गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

एकतप्पा, इलाम । चौबन्दी एफसी इलामको फाकफोकथुम ७ स्थित सिकारी भञ्ज्याङमा जारी चौथो एकतप्पा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्थानीय सिंहदेवी माविको खेलमैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा चौबन्दीले ब्रदर्स युनाइटेड एफसीलाई ३-० गोलले पराजित गर्दै उपाधिको दाबेदारी प्रस्तुत गरेको छ । चौबन्दीको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ ।

चौबन्दीका लागि ओशन राईले खेलको १०औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने २ मिनेटपछि सुशिल लावतीले गोल गर्दै अग्रता दोब्बर बनाए । चौबन्दीकै ओशन राईले २२औँ मिनेटमा थप गोल गर्दै शानदार जित निकालेका हुन् ।

व्यक्तिगत दुई गोल गरेका ओशन राई प्लेयर अफ दी म्याच बन्दै नगद एक हजार र ट्रफी पाउन सफल भए । यसैबीच, महिलातर्फको अन्तिम क्वाटरफाइनल खेलमा महिलातर्फ पाँचथरको नाइन स्टार एफसी अनुपस्थित भएपछि आयोजक क्रिएटिभ सोसियल स्पोर्टिङ एफसी सोझै सेमिफाइनलमा प्रवेश गरेको छ ।

दीपावलीको अवसरमा क्रिएटिभ सोसियल स्पोर्टिङ क्लब फाकफोकथुम ७ ले आयोजना गरेको प्रतियोगितामा शनिबार महिलातर्फ एमपीसी एफसी पाँचथर र आयोजकको बी टिम र पुरुषतर्फ योङ ब्वाइज एफसी उर्लाबारी र हाङमाचुली एफसीले पहिलो सेमिफाइनल खेल खेल्ने छन् ।

कात्तिक १६ गते हुने पुरुषतर्फको फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार पाउने छ । यसैगरी, महिलातर्फको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी पाउने आयोजकका अध्यक्ष पदम योङहाङले जानकारी दिए ।

Post Comments