पाल्पामा तेस्रो दोभान कप शुरु
सुरज राना मगर

दोभान । दोभान फुटबल क्लब, तिनाउ गाउँपालिका–२, दोभान, पाल्पाको आयोजनामा कार्तिक ९ गते सोमबारदेखि तेस्रो दोभान कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।

दोभान फुटबल मैदानमा सम्पन्न प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भए । जसमा मोहन एफसी र बाङ बाङ एफसीले विजयी शुरुवात गर्न सफल भए ।

दिनको पहिलो र उद्घाटन खेलमा मोहन एफसीले गुड मर्निङ एफसीलाई टाईब्रेकरमा ३–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ मोहनका लागि रोहन राईले गोल गर्दा गुड मर्निङका लागि सुमित शाहीले गोल गरेका थिए । खेलमा मोहन एफसीका समिर मगर प्लेयर अफ द म्याच चुनिए ।

त्यस्तै दोस्रो खेलमा पनि टाईब्रेकर मै नतिजा निस्कियो । बाङ बाङ एफसीले टाईबे्रकरमा झुम्सा एफसीलाई ३–२ ले पराजित गर्यो । त्यसअघि निर्धारित समयको खेल यी दुई टोलीले पनि १–१ को बराबरी खेलेका थिए । निर्धारित समयतर्फ बाङ बाङका लागि प्रशान्त न्यौपानेले गोल गरेका थिए भने पृथ्वी गुरुङले गोल गरेका थिए । खेलमा बाङ बाङ एफसीका गोलरक्षक श्रीराज सिङजाली प्लेयर अफ द म्याच घोषित भए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लाल बहादुर थापा, आयोजक क्लबका अध्यक्ष बिक्रम कुमाल, तिनाउ गाउँपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष एवं तिनाउ गाउँपालिकाका प्रवक्ता यादव अर्याल, प्रमुख प्रशासकीय अधिकृत यादव भट्टराई, पाल्पा जिल्ला फुटबल संघका उपाध्यक्ष प्रज्वल उदय लगायतले संयुक्त रुपमा गरेका थिए ।

आउँदो कार्तिक १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक सुनिल श्रेष्ठले जानकारी दिए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक सुनिल श्रेष्ठले बताए ।

Post Comments