काठमाडौं । एशियन पेन्ट्स च्याम्पियन्स् कप २०२६ अन्तर्गत लेवरोटरी सेकेण्डरी स्कुल,किर्तिपुरको खेल मैदानमा सम्पन्न सेमीफाईनल खेलमा मनास्लु वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल विजयी भई फाईनलमा प्रवेश गरेको छ ।
पहिलो सेमीफाईनल खेलमा मनास्लु वल्र्ड कलेजले लेवरोटरी सेकेण्डरी स्कुललाई ६–१ गोलले पराजित गर्यो । मनास्लु वल्र्ड कलेजको तर्फबाट सुजन स्याङ्गतानले २ गोल, सागर तामाङ्ग, शिसिर गुरुङ्ग, संगम तामाङ्ग, सिकलेस भण्डारीले गोल गरेका थिए भने लेवरोटरी सेकेण्डरी स्कुलको तर्फबाट श्रीजन तामाङ्गले गोल गरे ।
दोश्रो सेमीफाईनल खेलमा मनकामना सेकेण्डरी स्कुलले पिसपोईन्ट वोर्डिङ्ग स्कुललाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गर्यो । निर्धारित समयसम्म दुवै टिमको तर्फबाट २÷२ गोल भएको थियो । मनकामनाका लागि आदेश कुमार दास र निशान्त तामाङ्गले गोल गरे भने पिस पोईन्ट वोर्डिङ्ग स्कुलको तर्फबाट विकास थापा र दिपेन राईले गोल गरे ।