धरान । बिष्णुपादुका फुटबल क्लब, धरान, सुनसरीको आयोजनामा सम्पन्न तेस्रो पञ्च बहादुर राई स्मृति कप फुटबल प्रतियोगिताको उपाधि आयोजक बिष्णुपादुका फुटबल क्लब (बी) ले नै जितेको छ ।
फाइनलमा बिष्णुपादुकाले देवीगाउँ फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि जित्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ बिष्णुपादुकाका लागि नवराज तामाङले गोल गरेका थिए भने देवीगाउँका लागि संगम राईले गोल गरेका थिए । यद्यपि टाइब्रेकरमा भने बिष्णुपादुका ४–२ ले विजयी बन्यो ।
विजेता बनेको बिष्णुपादुकाले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता देवीगाउँले नगद १५ हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो । बिष्णुपादुकाका नवराज तामाङ फाइनल खेलको प्लेयर अफ द म्याच बने ।
अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक पनि बिष्णुपादुकाकै सुरज तामाङ बन्दा उत्कृष्ट डिफेन्डर देवीगाउँका अनिश बिक चुनिए । बिष्णुपादुकाका सत्य राई राईजिङ प्लेयर बन्दा देवीगाउँका बिकास राईले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने बिष्णुपादुकाका निरज लिम्बु घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्त अर्याल लगायतले पुरस्कृत गरेका थिए ।