काठमाडौं (एजेन्सी) । जारी फिफा विश्वकपतर्फ शुरुवाती खेलहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका एसियाली राष्ट्रहरुको सूचीमा एसियन पावर हाउस जापान पनि थपिएको छ ।
समूह एफमा रहेको जापानले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी नेदरल्याण्डसलाई २–२ को बराबरीमा रोक्दै अंक खोसेको छ । खेलमा दुईपल्ट उत्कृष्ट पूनःरागमन गर्दै जापानले अंक खोसेको हो ।
खेलको ५०औं मिनटमा भर्जिल भान डाईकको गोलबाट नेदरल्याण्डसले खेलमा अग्रता लिएको थियो । तर, ५७औं मिनटमा किटो नाकामुराले जापानका लागि पहिलो बराबरी गोल फर्काएका थिए ।
खेलको रोमाञ्चक त्यतिमै रोकिएन । खेलको ६४औं मिनटमा क्राइसेन्सियो समरभिलेको गोलबाट नेदरल्याण्डसले दोस्रोपटक खेलमा अग्रता लियो । तर, त्यो अग्रता पनि जोगाउन सकेन । ८८औं मिनटमा डाइची कमाडाले जापानका लागि दोस्रो बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
समूह चरणको दोस्रो खेलमा अब २० जुनका दिन नेदरल्याण्डसले स्वीडेनको सामना गर्नेछ भने सोही दिन जापानले ट्युनिसियासँग खेल्नेछ ।