
वालिङ । स्याङ्जाली नगर वालिङमा वालिङ युनाइटेड फुटबल क्लबको आयोजनामा विगत नौ वर्षदेखि निरन्तर हुँदै आएको अरहान्त मेमोरियल कप यु–१२ नाईन ए साईड युथ फुटबल प्रतियोगिताको नवौं संस्करणको तयारी पूरा भएको छ ।
वालिङ खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएका्े छ । उद्घाटन खेलमा जेठ ४ गतेका दिन २ बजे साविक विजेता पर्वत इङलिस बोर्डिङ स्कुल र सगरमाथा इङलिस बोर्डिङ स्कुल भिड्ने छन् । त्यस्तै सोही दिन हुने दोस्रो खेलमा ३ बजे भुपु सैनिक वालिङ र शाईन भिलेज भिड्ने छन् ।
प्रतियोगितामा सहभागि कुल १२ टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । लिगकमप नकआउटका आधारमा हुने प्रतियोगिताको प्रत्येक समूहको शिर्ष टोली सेमिफाइनलमा प्रवेश गर्ने खेल संयोजक केशर बहादुर थापा (राजन) ले जानकारी दिए । फाइनल खेल र समापत जेठ ७ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक केशर बहादुर थापा (राजन) ले बताए । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक थापाले जानकारी दिए ।
को थिए अरहान्त?
वालिङ नगरपालिका–८, स्याङ्जाका स्थायी वासिन्दा र क्षमता बोकेका राम्रा खेलाडी अरहान्त थापाको १२ वर्षको उमेर मै निधन भएपछि उनकै स्मृतिमा उनको पिता कुमार थापा र परिवारको पहलमा निरन्तर अरहान्त मेमोरियल युथ कप हुँदै आएको छ । त्यसो त अरहान्तको परिवार नै फुटबलमय पृष्ठभूमिमा आवद्ध रहेको छ ।
अरहान्तका पिता मोफसलका चर्चित र परिचित क्लब सहारा क्लब, युकेका कोषाध्यक्ष समेत हुन् भने सक्रिय फुटबल अभियन्ता पनि हुन् । अरहान्तका काका गोपाल थापा नेपाल कै राष्ट्रिय युथ लेभल हुँदै शिर्ष डिभिजन लिग खेलेका खेलाडी हुन् । अरहान्तका भाई आर्नव हाल बेलायतको चर्चित अक्सफोर्ड फुटबल क्लबको युथ टिमबाट खेलिरहेका छन् । आर्नवले अक्सफोर्डमा आउनु अघि चर्चित रिडिङ एफसीबाट समेत खेलेका थिए ।
दिवंगत अरहान्तका पिता कुमार भन्छन्, “छोरा अरहान्त कै फुटबल खेल्ने रहर उसले पूरा गर्न नसके पनि उसकै उमेरका फुटबल खेल्ने साना खेलाडीहरुलाई एउटा युथ फुटबलको प्लेटफर्म बनाएर निरन्तर अवसर दिनुपर्छ भनेरै प्रतियोगिता आयोजनालाई निरन्तरता दिएको हो । यो प्रतियोगिताले साना बाल खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्न थप सहयोग पुग्ने विश्वास लिएको छु । र प्रतियोगितालाई हाम्रो निरन्तर सहयोग रहनेछ ।”
स्मरण रहोस, अरहान्त मेमोरियल कपको मुख्य प्रायोजन लगायत अन्य विधागततर्फका पुरस्कारको व्यवस्थापनि पनि दिवंगत अरहान्त कै पिता कुमार थापा र उनको परिवारले गर्दै आईरहेको छ । हाल अरहान्तका परिवार बेलायत मै बसोबास गर्दै आईरहेका छन् ।