News राइनो गोल्डकपः उत्कृष्ट जितका साथ इन्द्रेणी क्वाटरफाइनलमा
गोलनेपाल

नवलपुर । इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा जारी पाँचौं राइनो संरक्षण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मध्यविन्दु–२ कोल्हुवा स्थित राइनो मिनी स्टेडियममा भएको खेलमा इन्द्रेणीले अभिषेक चर्च, नवलपुरलाई ५–२ ले हरायो । खेलमा शुरुवाती अग्रता लिएर पनि अभिषेक चर्च पराजित हुन पुग्यो ।

खेलको छैटौं मिनटमै सरोज क्षेत्रीको गोलबाट अभिषेक चर्चले खेलमा अग्रता लिएको थियो । यद्यपि त्यसको पाँच मिनट बित्न नपाउँदै दशौं मिनटमा रोशन राना मगरले इन्द्रेणीका लागि बराबरी गोल फर्काए ।

लगतै २७औं मिनटमा रमेश मगरले इन्द्रेणीलाई खेलमा अग्रता दिलाए भने ३०औं मिनटमा सुमित श्रेष्ठले इन्द्रेणीका लागि तेस्रो गोल गरे । तर, ३२औं मिनटमा सरोज क्षेत्रीले नै अभिषेक चर्चका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

यद्यपि ५३औं मिनटमा अनिष तामाङले इन्द्रेणीका लागि चौथो गोल गरे भने सन्जय जलारीले ८४औं मिनटमा पाँचौं गोल गर्दै टोलीको उत्कृष्ट जित पक्का गरे । इन्द्रेणीले अब क्वाटरफाइनलमा फागुन १० गते हिमालयन शेर्पाको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत फागुन ७ गते बुधबारको खेल बिजय युथ, हेटौडा र झापा–११ बीच हुने आयोजकले जनाएको छ । राइनो क्लब, मध्यविन्दु–४ नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

Post Comments