News हरिवन सुर्यनगर गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

सुर्यनगर । हरिवन युवा क्लब, सर्लाही जारी सातौं सुर्यनगर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो क्वाटरफाइनलमा हरिवनले कपिलवस्तु–११ लाई ३–१ ले हरायो र अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

बर्दघाट–१६ स्थित सुर्यनगर रंगशालामा भएको खेलमा हरिवनका लागि सुनिल श्रेष्ठले दुई गोल गरे भने थप एक गोल यानिकले गरेका थिए । उता पराजित कपिलवस्तुले भने आत्माघाती गोल उपहार पाएको थियो । हरिवनका जाजाले आत्मघाती गोल गरेपछि कपिलवस्तुले एक मात्र सान्त्वना गोल फर्काउन सफल भएको थियो ।

हरिवनका लागि दुई गोल गरेका सुनिल श्रैष्ठ म्यान अफ द म्याच समेत चुनिए । उनले त्यसवापत नगद ३ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन १ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल रुपन्देही–११ र बागमती युवा क्लब, सर्लाहीबीच हुने आयोजकले जानकारी दियो ।

नव युवा क्लब, बर्दघाट–१६, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments