News आयोजक बिग बुद्धलाई उपाधि
सुरज राना मगर

सुनवल । प्रथम बिग बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक बिग बुद्ध क्लबले नै जितेको छ । फाइनलमा नव नेपाल किसान युवा क्लबलाई टाईब्रेकरमा हराउँदै आयोजकले उपाधि उचाल्न सफल भएको हो ।

सुनवल–६, बिसासय स्थित स्थानीय खेलमैदानमा भएको फाइनल खेलको निर्धारित समय दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा भने आयोजकले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको बिग बुद्धले उपाधिसहित नगद १ लाख ५ हजार हात पार्यो भने उपविजेता नव नेपाल किसान युवा क्लबले ६१ हजार ५ सयमा चित्त बुझायो ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेत, आयोजक बिग बुद्ध युवा क्लबका अध्यक्ष सञ्जिव लामा लगायतले पुरस्कृत गरेका थिए ।

बिग बुद्ध युवा क्लब, सुनवल–६, बिसासय, नवलपरासीको आयोजनामा गत माघ ९ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १७ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments