News डिएमसी पाँचौं सञ्जिवनी कपको फाइनलमा
सुरज राना मगर

बागधुरा । संघर्षपुर्ण जित निकाल्दै पूर्व विजेता डिएमसी, तुल्सीपुर जारी पाँचौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनलमा डिएमसीले जनज्योति क्लब, डिङ्गरनगरलाई टाईब्रेकरमा ५–४ ले हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

तिलोत्तमा–१४, बागधुरा, देवीनगर स्थित सञ्जिवनी खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ डिएमसीका लागि अरुण चौधरीले गोल गरेका थिए भने जनज्योतिका लागि प्रिन्स गुरुङ्गले गोल गरेका थिए ।

खेलमा डिएमसीका अरुण चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष बुद्धि बहादुर गुरुङ्गले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तरगत माघ २९ गते आइतबारको दोस्रो सेमिफाइनल खेल न्यु सिर्जना युवा क्लब, करौजिया र देवदह ब्वाईज, खैरेनीबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । प्रतियोगिताको फाइनल खेल भने फागुन २ गतेका दिन हुनेछ ।

Post Comments