News स्थानीय तह शहिद स्मृति पाँचौं मकवानपुर गोल्डकप शुरु, मकवानपुर–११ को विजयी शुरुवात
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । शनिबारदेखि शुरु स्थानीय तह शहिद स्मृति पाँचौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा घरेलु टोली रिगल रिसोर्ट हेटौडा मकवानपुर–११ ले विजयी शुरुवात गरेको छ ।

पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा मकवानपुरले दश खेलाडीमा सिमित बनेको नव जनजागृति युवा क्लब, सिमरा, बारालाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

खेलको १२औं मिनटमै प्रितम स्याङ्बोको गोलबाट मकवानपुरले खेलमा अग्रता लिएको थियो । ३९औं मिनटमा फागुराम थारुले त्यो अग्रता दोब्बर पारे । जुन खेलको अन्तिम गोल पनि बन्यो ।

त्यस्तै खेलको दोस्रो हाफमा नव जनजागृति दश खेलाडीमा सिमित बन्न पुगेको थियो । ५५औं मिनटमा जनक कोइरालाले प्रितम स्याङ्बोलाई फल गरेपछि रेफ्रीले जनकलाई रातो कार्ड देखाएका थिए ।

खेलमा मकवानपुरका अल्लु म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । यो जितसँगै मकवानपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ । र क्वाटरफाइनलतर्फ फागुन ५ गतेका दिन मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत माघ २९ गते आइतबरको खेल सातदोबाटो युथ क्लब र नेपाल एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन १० गतेका दिन हुनेछ ।

Post Comments