
पोखरा । प्रथम हिमालयन ब्रुअरी प्रा.लि. तथा १२औं बगर भाई खलक एट ए साईड अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान्स फुटबल प्रतियोगिता पर्यटकीय शहर पोखरामा एक कार्यक्रमका बीच भव्यताका साथ शुरु भएको छ ।
पुरानो टुंडिखेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक बगर भाई खलकले गण्डकी स्पोर्टस क्लवलाई ५–१ को को अन्तरले हराउँदै विजयी शुरुवात गर्यो । खेलमा आयोजकका लागि हयाट्रिक गरेका सुजन शाक्य म्यान अफ द म्याच घोषित भए ।
त्यसै गरी अर्को खेलमा दिप युनाइटेडले एक्स वारियर पोखरालाई ३–१ ले पराजित गर्यो । दिप युनाइटेडका लागि अर्जुन गुरुङ, अन्तिम गुरुङ र अशिम बजिमयले गोल गरे । उता पराजित एक्स वारियरका लागि देव थापाले एक मात्र गोल फर्काए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच पोखरा महानगरपालिकाका नगर प्रमुखद धनराज आचार्यले गरेका थिए । ‘स्वास्थ्यका लागि एक घन्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नाराका साथ सुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । कुल २४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यहि माघ ८ गतेका दिन हुनेछ ।