News मनास्लु युवा क्लब कालिस्थान सेमिफाइनलमा प्रवेश
गोलनेपाल

झापा जिल्लास्तरीय फुटबल प्रतियोगितामा टाइब्रेकरमा भाग्यमानी सावित हुँदै अर्जुनधाराको मनास्लु युवा क्लब कालिस्थान सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्थानीय दीपज्योति खेलमैदानमा आइतबार बिर्तामोडको रेड स्टार एफसीलाई टाइब्रेकरमा ३–० गोलले पराजित गर्दै मनास्लुले सेमिफाइनल यात्रा गरेको हो । यो खेलसँगै सेमी समिकरण पनि पूरा भएको छ ।

दुई पटक जीतको नजिक पुगेको रेड स्टारले अग्रतालाई जोगाउन नसक्दा हार व्यहोर्न बाध्य बन्यो । खेलको सुरुवातीमै १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै रेड स्टार खेलाडीले २–१ गोलको नतिजा पस्केका थिए ।

खेलको २ मिनेटमै मनास्लुका खेलाडी शेरु लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, रेड स्टारका सुजन बयलकोटीले खेलको २४औँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए ।

यो खेलमा सुजनको ह्याट्रिक पनि खेर गयो । उनैले दोस्रो हाफको ४ मिनेटमा थप गोल गरेर टिमलाई कम ब्याक गराए । तर, यो खुसी धेरैबेर टिकेन । दोस्रो हाफको ७ मिनेटमै मनास्लुका सौगात गोम्देनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

रेड स्टारका सुजनले नै दोस्रो हाफको ८ मिनेटमा थप गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरेका थिए भने खेलको स्थिति ३–२ बनाउँदै जीत नजिक पनि पुराए । तर, दोस्रो हाफको ११औँ मिनेटमा मनास्लुका सौगात गोम्देनले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

टाइब्रेकरमा सानुका सुब्बा, सनम राईलगायत तीन खेलाडीको प्रहार मनास्लुका गोलरक्षक जीवन धौरालीले बचाएका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए ।

उनलाई सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पका सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोणकुमार विष्ट र खेलप्रेमी प्रदिप जोशीले पुरस्कारस्वरुप नगद २ हजार प्रदान गरे ।

कप्तानबारी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा जिल्लाका ८ टिम सहभागी छन् । भोलि (सोमबार) बिर्तामोड युनाइटेड एफसी र शनिश्चरे एफसीबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष श्याम दनुवारले जानकारी दिए ।

Post Comments