
फापरबारी । शुक्रबारदेखि शुरु चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा नव जनजागृति युवा क्लब, सिमराले विजयी शुरुवात गरेको छ ।
बागमती गाउँपालिका, मकवानपुर स्थित फापरबारीमा रहेको जनता माविको खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा नव जनजागृतिले आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरलाई ३–१ ले हरायो ।
खेलको म्यान अफ द म्याच नव जनजागृतिका एलोन राई घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । यो जितसँगै नव जनजागृति प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत चैत्र १५ गते आइतबारको खेल रिगल हेटौडा रिसोर्ट मकवानपुर–११ र सशस्त्र प्रहरीको एपिएफ क्लब बीच हुने आयोजकले जनाएको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने आउँदो चैत्र २३ गतेका दिन हुनेछ ।