News एपिएफ पूर्वाञ्चल मिल्स गोल्डकपको फाइनलमा
गोलनेपाल

रानी । प्रतिस्पर्धात्मक जितका साथ एपिएफ पूर्वाञ्चल यहाँ जारी प्रथम मिल्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले इलेभन एरोज क्लब, दुहबी सुनसरीलाई टाईब्रेकरमा ३–२ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

रानी स्थित जुटमिल खेलमैदानमा भएको प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको ११औं मिनटमा बिबेक पौडेलको पेनाल्टी गोलबाट इलेभन एरोजले खेलमा शुरुवाती अग्रता बनाएको थियो ।

तर ४६औं मिनटमा अरुण राईले आत्मघाती गोल गर्दा खेल १–१ को बराबरीमा पुगेको थियो । त्यस्तै ६१औं मिनटमा उज्वल चाम्लिङ राईले एपिएफका लागि गोल गर्दै विभागीय टोलीलाई खेलमा २–१ को स्थितिमा पुर्याए । यद्यपि खेलको अन्तिमतिर इन्जुरी समयमा इलेभन एरोजका लागि दिनेश राईले गोल फर्काउँदै खेललाई २–२ को बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा भने एपिएफका लागि राजकुमार कन्दङवा, बिमल तामाङ र नविन चौधरीले गोल गरे । उज्वल राईको प्रहार इलेभन एरोजका गोलरक्षकले जोगाएका थिए भने समिर राईको प्रहार पोष्टबाट बाहिरिएको थियो ।

त्यस्तै उता इलेभन एरोजका लागि शंकर चौधरी र उमेश कार्कीले मात्र गोल गर्न सके । कविन्द्र चौधरीको प्रहार एपिएफका गोलरक्षकले जोगाएका थिए भने बिबेक पौडेल र सुमन चौधरीको प्रहार बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्याच एपिएफका उज्वल चाम्लिङ राई घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १२ गतेको दोस्रो सेमिफाइनल खेल साईनो स्पोर्टस क्लब, बिराटनगर र धरान सिटी फुटबल एकेडेमी, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्ट, रानी बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १४ गतेका दिन हुनेछ ।

Post Comments