सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४ मा महिला फुटबल खेलाडीहरूलाई लक्षित गर्दै नियमित फुटबल प्रशिक्षण तथा परामर्श कार्यक्रम सुरु भएको छ।
युद्ध फुटबल एकेडेमीले दूरदराजका क्षेत्रमा रहेका महिलाहरूको प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेको हो।विशेषगरी खेलकुदको पहुँचभन्दा टाढा रहेका महिलाहरूलाई फुटबलमा सहभागी गराउन एकेडेमीले प्रत्येक हप्ताको शनिबार र आइतबार प्रशिक्षण दिँदै आएको छ।
प्रशिक्षणका क्रममा प्राविधिक खेल कौशल सिकाउनुका साथै खेलाडीहरूको मानसिक विकास, खेल रणनीति र उत्प्रेरणाका लागि नियमित परामर्श (काउन्सिलिङ) समेत प्रदान गरिने एकेडेमीले जनाएको छ।
कर्णाली क्षेत्रमा महिला फुटबलको जग बलियो बनाउन र लुकेर रहेका ग्रामीण प्रतिभाहरूलाई खेलकुदको मूलधारमा ल्याउन यो कार्यक्रमले महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।