चरङे । देवदह–२ र घरेलु टोली देवदह–१० (बी) रुपन्देहीको देवदह–१० स्थित चरङेमा जारी चौथो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्तर्गत बुधबार दुवै सेमिफाइनल खेलहरु सम्पन्न भएका थिए । पहिलो सेमिफाइनलमा देवदह–२ ले देवदह–१० (ए) लाई २–१ ले हराउँदै फाइनल प्रवेश गर्यो । देवदह–२ को जितमा बिबेक राना र सन्तोष थापाले गोल गरे । उता पराजित देवदह–१० (ए) का लागि प्रबिन रञ्जितकारले गोल गरेका थिए । खेलमा देवदह–२ का सन्तोष थापा म्यान अफ द म्याच चुनिए ।
त्यस्तै दोस्रो सेमिफाइनलमा देवदह–१० (बी) ले देवदह–५ (ए) लाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुग्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ देवदह–१० (बी) का लागि अनुप गुरुङले गोल गरेका थिए भने देवदह–५ (ए) का लागि सन्तोष परियारले गोल गरेका थिए । टाईब्रेकरमा भने देवदह–१० (बी) ३–२ ले विजयी बन्यो । खेलमा देवदह–१० (बी) का गोलरक्षक मिलन क्षेत्री म्यान अफ द म्याच चुनिए ।
अब यही असार ११ गते बिहीबार हुने फाइनलमा देवदह–२ र देवदह–१० (बी) उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
शान्तिटोल फुटबल प्रतियोगिता उपभोक्ता समिति, देवदह–१०, चरङे, रुपन्देहीको आयोजना तथा देवदह नगरपालिका वार्ड नम्बर १० को कार्यालयको संरक्षकत्व र विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३३ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष मोहन थापा मगरले जानकारी दिए ।