News खनाल ब्रदर्शको जितमा अमिर र बिमलको गोल
सुरज राना मगर

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा जारी तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगितामा खनाल ब्रदर्श सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको अन्तिम क्वाटरफाइनलमा खनाल ब्रदर्शले मुर्गिया एफसीको चुनौति २–० ले पन्छाउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

सैनामैना–७ देवापार स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको २०औं मिनटमा बिमल रानाको गोलबाट खनाल ब्रदर्शले खेलमा अग्रता बनाएको थियो । त्यस्तै पहिलो हाफ कै ३६औं मिनटमा अमिर श्रेष्ठले दोस्रो गोल थप्दै टोलीको जित पक्का गरेका थिए ।

खेलको म्यान अफ द म्याच खनाल ब्रदर्शका दोस्रो गोलकर्ता अमिर श्रेष्ठ नै घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी समेत हात पारे । खनाल ब्रदर्शले दोस्रो सेमिफाइनलतर्फ अब फागुन ३ गते दिनका फूलबारी गाईजसँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत फागुन २ गते आइतबारको पहिलो सेमिफाइनल खेल फर्साटिकर युवा क्लब र विश्व शान्ति युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

जनप्रिय स्र्पोटिङ क्लबको आयोजना र सैनामैना नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भने यहि फागुन ५ गतेका दिन हुनेछ ।

 

Post Comments