News मोरक्कोलाई दोस्रोपटक फिफा अरब कपको उपाधि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । कतारमा सम्पन्न ११औं फिफा अरब कपको उपाधि अफ्रिकी राष्ट्र मोरक्कोले जितेको छ । फाइनलमा एसियाली राष्ट्र जोर्डनलाई ३–२ ले हराउँदै मोरक्को दोस्रोपटक च्याम्पियन बनेको हो । स्मरण रहोस, मोरक्कोले अन्तिमपटक सन् २०१२ मा यो उपाधि जितेको थियो ।

लुसैल स्टेडियममा भएको खेलको चौथो मिनटमा उसामा तन्नानेको गोलबाट मोरक्कोले नै खेलमा अग्रता लिएको थियो । तर, दोस्रो हाफमा जोर्डनले पूनःरागमन गर्यो । खेलको ४८ र ६८औं मिनटमा अली ओलवानले जोर्डनका लागि लगातार दुई गोल गर्दे खेलमा टोलीलाई २–१ को स्थितिमा ल्याए । ओलवानले दोस्रो गोल पेनाल्टीबाट गरेका थिए ।

यद्यपि, जोर्डनले पनि त्यो अग्रता जोगाउन सकेन । खेलको ८८औं मिनटमा अब्दिरज्जक हमदल्लाहले मोरक्को लागि दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । खेल बराबरीमा सकिएपछि अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको १००औं मिनटमा हमदल्लाहले नै व्यक्तिगत दोस्रो तथा मोरक्कोका लागि तेस्रो गोल गर्दै टोलीको रोमाञ्चक जित पक्का गरे ।

यो हारसँगै अरब कपमा पहिलोपटक फाइनल प्रवेश गरेको जोर्डनले ऐतिहासिक उपाधि उचाल्ने अवसरबाट बञ्चित भएको छ ।

 

Post Comments