News पोखरा रङ्गशालामा यसै वर्ष फ्लडलाइट जडान गर्ने प्रक्रिया अघि बढाइने : मन्त्री घिसिङ
गोलनेपाल

पोखरा । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पोखरा रङ्गशालामा यसै वर्ष फ्लडलाइट जडान गर्ने प्रक्रिया अघि बढाइने बताएका छन्।

आइतबार पोखरा रङ्गशालाको निरीक्षण गर्दै मन्त्री घिसिङले खेलकुदकर्मीहरूको लामो समयदेखिको मागलाई ध्यानमा राख्दै सरकारले फ्लडलाइट जडानको विषयमा गम्भीरतापूर्वक काम अघि बढाउने स्पष्ट पारे। माछापुच्छ्रे सहितको हिमश्रृङ्खला देखिने प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा रङ्गशाला अन्तर्राष्ट्रिय स्तरको खेलकुद आकर्षण बन्न सक्ने उल्लेख गर्दै उनले साँझ तथा राति खेल सञ्चालनका लागि फ्लडलाइट अपरिहार्य रहेको बताए।

फ्लडलाइट जडानका लागि १२ देखि १५ करोड रुपैयाँ लागत लाग्ने अनुमानबारे पत्रकारहरूको जिज्ञासामा मन्त्री घिसिङले आवश्यकताको आधारमा यसै वर्ष बजेट व्यवस्थापन गरेर परियोजना अघि बढाइने जानकारी दिए। उक्त परियोजना एकै पटक सम्पन्न गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइने पनि उनले बताए।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले मन्त्री घिसिङसमक्ष फ्लडलाइट जडानको औपचारिक प्रस्ताव पेश गरेका छन्। यसअघि पटक–पटक बजेट माग गर्दा पनि सुनुवाइ नभएको भन्दै उनले अहिले सकारात्मक पहल सुरु भएकोमा आशा व्यक्त गरे।

करिब १ अर्ब २८ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको पोखरा रङ्गशालामा फ्लडलाइट नहुँदा साँझ तथा बेलुका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नसकिएको अध्यक्ष गुरुङले बताए। समितिका कार्यालय प्रमुख डीबी नेपालीले मन्त्री घिसिङलाई पोखरा रङ्गशालाको समग्र अवस्थाबारे ब्रिफिङ गरेका थिए।

‘उज्यालो नेपाल’ गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न शनिबार पोखरा आएका मन्त्री घिसिङले आइतबार रङ्गशालाको निरीक्षण गरेपछि खेलकुदकर्मीहरूले स्वागत गरेका थिए। पोखरा क्षेत्रका विभिन्न भौतिक पूर्वाधार निर्माण योजनाको अवलोकनपछि मन्त्री घिसिङ आजै तनहुँतर्फ प्रस्थान गरेको पोखराक्लिकलाई कुसल गुरुङले जानकारी दिएका छन्।

from Pokharaclick

Post Comments