नयाँगाउँ । हाल रुपन्देहीमा आयोजना भईरहेको प्रथम भैरव कपको आयोजक भैरव युवा क्लब, सिद्धार्थनगर–१ रुपन्देहीलाई स्थानीय निकायले पनि प्रोत्साहन स्वरुप सहयोग गरेको छ ।
क्लबलाई सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर १ को कार्यालयले आउने दिनहरुमा क्लबमार्फत स्थानीय खेलाडीहरुलाई थप हौसला मिलोस भन्दै जर्सी सहयोग गरेको हो । भैरव युवा क्लबकी कोषाध्यक्ष शारदा गुरुङले सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर १ को कार्यालयबाट १८ थान जर्सी प्राप्त भएको जानकारी दिईन् ।
उक्त जर्सी सिद्धार्थनगर–१ नयाँगाउँ स्थित पक्लिहवा माविको खेलमैदानमा हाल जारी प्रथम भैरव कप कै अवसर पारी सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष उज्ज्वल पोखरेल, महिला सदस्य हरिमाया गुरुङ र अर्का वार्ड सदस्य मिन बहादुर गुरुङले भैरव युवा क्लबका अध्यक्ष यम बहादुर थापा, कार्यक्रम संयोजक तेजेन्द्र गुरुङ (शक्ति) र भैरव कपको आर्थिक संयोजक समेत रहेकी शारदा गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
स्मरण रहोस, भैरव युवा क्लबले स्थानीय खेलाडीहरुलाई बढी भन्दा बढी अवसर प्रदान गर्ने उद्देश्यका साथ हाल प्रथम भैरव कप खुला नकआउट फुटबल प्रतियोगिताको आयोजना गरिरहेको छ । साथै प्रतियोगिताको फाइनल र समापन यही मंसिर २७ गतेका दिन हुँदैछ ।