नयाँगाउँ । भैरव स्पोर्टस क्लब, नवलपरासी रुपन्देहीमा जारी प्रथम भैरव कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने चौथो तथा अन्तिम टोली बनेको छ ।
मंगलबार भएको चौथो क्वाटरफाइनलमा भैरवले अधिकांश युवा खेलाडीहरुले भरिएको फर्साटिकर युवा क्लब, फर्साटिकरलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
सिद्धार्थनगर नगरपालिका–१, नयाँगाउँ स्थित पक्लिहवा माविको खेलमैदानमा भएको खेलमा भैरवका लागि अनुज गैरे र विज्ञान गुरुङले गोल गरे । भैरवका गोलकर्ता विज्ञान गुरुङ म्यान अफ दि म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत मंसिर २४ गते बुधबारको पहिलो सेमिफाइनल खेल समपुर्ण युवा क्लब, सुपौली र मोन्स्टर गाईज, सुनवलबीच हुने खेल संयोजक तेजेन्द्र गुरुङ (शक्ति) ले जानकारी दिए ।
भैरव युवा क्लब, सिद्धार्थनगर–१, नयाँगाउँ, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २७ गतेका दिन हुनेछ ।