News आयोजक सुनाखरी एकेडेमीलाई उपाधि
गोलनेपाल

धरान । यहाँ सम्पन्न सुनाखरी एकेडेमी कप सुनसरी जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि आयोजक सुनाखरी एकेडेमीले नै जितेको छ ।

फाइनलमा सुनाखरीले नेपाल पुलिस स्कुललाई टाईब्रेकरमा हराउँदै उपाधि उचालेको हो । एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा सुनाखरी एकेडेमी ३–२ ले विजयी बन्दै च्याम्पियन बन्यो ।

विजेता बनेको सुनाखरी एकेडेमीले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता नेपाल पुलिस स्कुलले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

नेपाल पुलिस स्कुलका कृष्ण राई फाइनल खेलको म्यान अफ दि म्याच बने । त्यस्तै उत्कृष्ट गोलरक्षक सुनाखरीका राजेश ओझा बन्दा उत्कृष्ट डिफेन्डर सुनाखरी कै करण थापा चुनिए । नेपाल पुलिसका समिर राई उत्कृष्ट फरवार्ड बन्दा सुनाखरीका इन्दु रसाइली उत्कृष्ट प्रशिक्षक चुनिए ।

त्यसैगरी सुनाखरीका श्री हाङ राईले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही २५००–२५०० हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने सुनाखरीका एलिन थापा घोषित भए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायतले पुरस्कृत गरेका थिए । सुनाखरी एकेडेमी, धरान, सुनसरीको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल १६ विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments