रामपुर । मोफसलको फुटबलमा छोटो समयमै परिचित बनेको पूर्वी पाल्पाको रामपुरमा यही असोज २६ गते आइतबारदेखि शुरु हुन गईरहेको वाईवाई तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
रामपुर–७, किसानबारी स्थित प्रस्तावित ज्योतिपुञ्ज रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा पहिलो संस्करणको विजेता न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाले नव प्रवेशी टोली अभिषेक चर्च एफसी, रजहर, नवलपुरको सामना गर्नेछ ।
काठमाडौ र मोफसलका उत्कृष्ट १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते हुने खेल संयोजक अनिल शाही ठकुरीले बताए । प्रतियोगिता सम्पन्न गर्न सबै भौतिक र प्राविधिक सबै तयारी पूरा भएको संयोजक ठकुरीले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक सुदिप गौतमले बताए । त्यसबाहेक विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।
गौतमले यसपटक खेल हेर्न टिकट काट्नुपर्ने समेत खुलाए । साथै टिकट मुल्य क्वाटरफाइनलसम्म ५० र सेमिफाइनल तथा फाइनलको १०० तोकिएको पनि जानकारी दिए । त्यस्तै भिआइपीतर्फ २००० को टिकट पास पनि तोकिएको उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करि ३० लाख बढी खर्च हुने अनुमान गरिएको आयोजक क्लब कै निवर्तमान अध्यक्ष समेत रहेका सुदिप गौतमले बताए ।
उता आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, किसानबारी, पाल्पाका अध्यक्ष सुन्दर रानाले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सबैलाई खुलेर साथ, सहयोग गर्न आह्वान गरे । समग्र रामपुर नगर कै गौरवका रुपमा रहेको ज्योतिपुञ्ज कपलाई सबैको राम्रो साथ र सहयोग समेत मिलेको समेत उनले जिकिर गरे ।
रामपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पाल्पाको संरक्षकत्वमा सञ्चालन हुँदै आएको ज्योतिपुञ्ज कपको गत संस्करणको उपाधि युनाइटेड युथ क्लब, गिरुबारी, नवलपुरले जितेको थियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
खेलतालिका हेर्नुहोसः
