News पाल्पाः खस्यौलीलाई लालीगुराँस कपको उपाधि
गोलनेपाल

मटेरी । संघर्षपुर्ण जितका साथ यहाँ सम्पन्न प्रथम लालीगुराँस कप राष्ट्रिय यु–१९ फुटबल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लब, बुटवल, रुपन्देहीले जितेको छ ।

रामपुर–५, मेटरी स्थित खेलमैदानमा खस्यौली र आयोजक एलजी एसोसिएशन बीच भएको फाइनल भिडन्तमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा खस्यौली २–० ले विजयी बन्दै च्याम्पियन बनेको हो ।

विजेता बनेको खस्यौलीले उपाधिसहित नगद २ लाख हात पार्दा उपविजेता एलजी एसोसिएशनले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । खस्यौलीका नबिन मसराङी फाइनल खेलको म्यान अफ दि म्याच र उत्कृष्ट गोलरक्षक समेत चुनिए ।

त्यस्तै अन्य विधातर्फ उत्कृष्ट डिफेन्डर एलजीका अरविन कुमार धामी बन्दा उत्कृष्ट मिडफिल्डर खस्यौलीका सरोज दर्लामी चुनिए । उत्कृष्ट फरवार्ड एलजीका सन्तोष गोङबा बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार एलजी कै सुनिल थापाले हात पारे ।

प्रतियोगिताको फेयर प्ले टिम देवदह ब्वाईज, रुपन्देही बन्यो । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने आयोजक एलजी कै सुनिल थापा घोषित भए ।

विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments