काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ भियतनाम विरुद्धको पहिलो खेलमा बिहीबार नेपालले ३–१ को हार बेहोरे तापनि नेपालका लागि दुई खेलाडीले आफ्नो नाममा एक विशेष उपलब्धी हासिल गरे ।
भियतनाम विरुद्धको पहिलो खेलमा नेपालका भरपर्दा डिफेन्डरका रुपमा परिचय बनाएका सनिष श्रेष्ठले देशका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्दा कुशल देउवाले नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरे ।
सनिषले खेलको १७औं मिनटमा रोहन कार्कीको फ्रिकिकमा सुन्दर हेड गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याउँदा उनका लागि त्यो पहिलो अन्तर्राष्ट्रिय गोलका रुपमा पनि विशेष रह्यो ।
त्यस्तै नेपालको युथ टोलीबाट खेलिसकेका कुशलले बिहीबार अन्तिमतिर नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरे । कुशलले खेलको ८५औं मिनटमा आयुष घलानको स्थानमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन् ।
स्मरण रहोस, नेपालले आफ्नो घरेलु म्याचका रुपमा रहेको भियतनाम विरुद्धको दोस्रो खेल पनि भियतनाम कै घरेलु मैदानमा खेल्दैछ । जुन खेल यही अक्टोबर १४ तारीखका दिन हुनेछ ।