काठमाडौं । आयोजक नाइन स्टार फुटबल क्लब (निलो) कतारमा जारी प्रथम नाइन स्टार कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कतारको दोहामा जारी प्रतियोगिताको क्वाटरफाइनलतर्फ नाइन स्टारले सीसीसी एनपी फुटबल क्लबलाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । नाइन स्टारका लागि मनोज परियार, नमसम लिम्बु र मेशम लिम्बुले गोल गरे । खेलमा नाइन स्टार कै मनोज परियार म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै अन्य खेलतर्फ सिएफसी (निलो) ले सलिक तलाबात फुटबल क्लबलाई २–० ले पराजित गर्यो । सिएफसी (निलो) का लागि हिकमान लिम्बु र उमेश कार्कीले गोल गरे । खेलमा सिएफसी (निलो) का हिकमान लिम्बु म्यान अफ दि म्याच बने । यो जितसँगै सिएफसी (निलो) क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै सिएफसी (रातो) ले पेट्रो एफसीलाई २–१ ले हरायो । सिएफसी (रातो) को जितमा सागर राई र बिवश राईले गोल गरे । उता पेट्रोका लागि भने गणेश हेमरमले गोल फर्काएका थिए । खेलमा सिएफसी (रातो) का सागर राई म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै सिएफसी (रातो) पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नाइन स्टार फुटबल क्लब, दोहा, कतारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,४४४ कतारी रियाल हात पार्नेछ भने उपविजेताले २,२२२ कतारी रियाल प्राप्त गर्ने खेल संयोजक प्रविन राईले जानकारी दिए । फाइनल खेल अक्टुबर ३ तारीखका दिन हुनेछ ।