News कतारमा प्रवासी नेपालीहरुबीच नाइन स्टार कप शुरु
गोलनेपाल

काठमाडौं । नाइन स्टार फुटबल क्लब, दोहा, कतारको आयोजना तथा आउँदै गरेको बिजयादशमीको अवसरमा कतारमा रहेका प्रवासी नेपालीहरुबीच फुटबलको माध्यमबाट आत्मियता, भाईचारा र सद्भाव आदानप्रदान गर्ने उद्देश्यका साथ नाइन स्टार कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन तीन खेलहरु सम्पन्न भए । पहिलो तथा उद्घाटन खेलमा नाइन स्टार एफसीले एनवाइएफसीलाई टाईब्रेकरमा ५–३ ले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि टाईब्रेकरमा नाइन स्टार विजयी बनेको हो । खेलमा नाइन स्टारका बिनोद गुरुङ म्यान अफ दि म्याच चुनिए ।

दोस्रो खेलमा एभरेष्ट एफसीले समृद्धि एफसीलाई १–० को साँघुरो अन्तरले पराजित गर्यो । एभरेष्टको जितमा बिवश मगरले एक मात्र निर्णायक गोल गरे । एभरेष्टका निर्णायक गोलकर्ता बिवश नै खेलको म्यान अफ दि म्याच समेत चुनिए ।

त्यस्तै तेस्रो खेलमा सीसीसी एनपी एफसीले लाखे ब्वाईज एफसीलाई २–१ ले हरायो । सीसीसी एनपीका लागि जिवन मगर र कृष्ण गुरुङले गोल गरे । उता पराजित लाखे ब्वाईजका लागि भने सागर बजियमले एक गोल फर्काएका थिए । खेलमा सीसीसी एनपीका मोहन गुरुङ म्यान अफ दि म्याच बने ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी झापा एफसीका अध्यक्ष, युवा खेल अभियन्ता तथा समाजसेवी अर्पन बिक्रम खड्काले गरेका थिए । सो अवसरमा आयोजक नाइन स्टार फुटबल क्लबका अध्यक्ष कमल थिङ लामा, सचिव युकेश लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,४४४ कतारी रियाल हात पार्नेछ भने उपविजेताले २,२२२ कतारी रियालसहित ट्रफी, मेडल प्राप्त गर्ने खेल संयोजक प्रबिन राईले जानकारी दिए । कुल २१ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल आउँदो अक्टुबर ३ तारीखका दिन हुने समेत संयोजक राईले बताए ।

 

Post Comments