
काठमाडौं (एजेन्सी) । ब्राजीलको राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीलाई स्पेनिस अदालतले जेल सजाय तोकेको छ । ६६ वर्षिय इटालियन प्रशिक्षक एन्सेलोटीलाई कर छलीको मुद्दामा दोषी ठहर गर्दै स्पेनिस अदालतले एक वर्षको जेल सजाय तोकेको हो ।
बीबीसीका अनुसार सन् २०१३ देखि २०१५ सम्म रियल मेड्रिडमा आफ्नो पहिलो कार्यकाल गुर्जादा एन्सेलोटीले पारिश्रमिकबाट बुझाउनु पर्ने १० लाख युरो नबुझाएको अदालतको ठहर छ । उनी यही कसुरमा दोषी ठहरिएका हुन् ।
स्पेनिस अदालतले एन्सेलोटीलाई एक वर्षको जेल सजाय तोके तापनि स्पेनको कानुन अनुसार उनले जेल जीवन भने बिताउनु पर्ने छैन । अहिंसाजन्य अपराधमा दुई वर्षसम्म दोषी करार भएका अपराधीहरुलाई स्पेनमा जेल जीवन बिताउन नपर्ने प्रावधान छ । यद्यपि उनले जरिवाना वापत ३,८६,३६१.९३ युरो बुझाउनु पर्नेछ ।
स्मरण रहोस, एन्सेलोटीले गत सिजन मात्रै रियलसँगको आफ्नो दोस्रो कार्यकाल टुंग्याएका थिए । साथै त्यसपश्चात उनले ब्राजीलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।