
काठमाडौं (एजेन्सी) । इङलिस क्लब तथा पूर्व विजेता चेल्सी जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । प्रतियोगिताको दोस्रो प्रिक्वाटरफाइनलतर्फ चेल्सीले पोर्चुगिज क्लब बेनफिकालाई ४–१ ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि थपिएको अतिरिक्त समयमा चेल्सीले जित हात पारेको थियो । खेलको ६४औं मिनटमा रिसे जेम्सको गोलबाट चेल्सीले अग्रता बनाए पनि खेलको अन्तिमतिर गोल खान पुगेको थियो । खेलको इन्जुरी समयमा एन्जल डि मारियाले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा भने चेल्सी हावी बन्यो । खेलको १०८औं मिनटमा क्रिस्टोफ एनकुन्कुले चेल्सीका लागि दोस्रो गोल गरे । ११४औं मिनटमा पेड्रो नेटोले तेस्रो गोल थप्दा, त्यसको तीन मिनट लगतै किरमान डियुसब्युरी–हलले चौथो गोल गर्दै चेल्सीको जित पक्का गरे ।
चेल्सीले अब ४ जुलाईका दिन हुने दोस्रो क्वाटरफाइनलतर्फ ब्राजिलियन क्लब पाल्मिरासको सामना गर्नेछ । पाल्मिरासले शनिबार राती नै सम्पन्न पहिलो प्रिक्वाटरफाइनलमा बोटाफोगोलाई १–० ले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरिसकेको छ ।
- फिफा क्लब विश्वकपःअल–हिलालद्वारा साविक विजेता सिटी नकआउट, मिलान पनि बाहिरियो
- कनकाफ गोल्डकपः आयोजक अमेरिका सेमिफाइनलमा, क्यानडा स्तब्ध
- फिफा क्लब विश्वकपः पिएसजी र बायर्न क्वाटरफाइनलमा
- एएफसी महिला एसियन कप छनौटः नेपाल कै समूहमा रहेको उज्वेकिस्तानको पनि फराकिलो जित
- कनकाफ गोल्डकपमा साउदीको चुनौति समाप्त, मेक्सिको र होण्डुरस सेमिफाइनलमा