Province 5 पाल्पामा दमकडा माण्डव्य ऋषि कप शुरु
सुरज राना मगर

दमकडा । पाल्पाको जिल्लाको परिचित क्लब मध्ये एक दमकडा ब्रदर्श फुटबल क्लब, तानसेन–९, दमकडा, पाल्पाको आयोजनामा आइतबारदेखि दमकडा माण्डव्य ऋषि कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

तानसेन–९, दमकडा स्थित आयोजक क्लब कै दमकडा फुटबल मैदानमा शुरु भएको प्रतियोगितामा आयोजक दमकडा ब्रदर्श एफसी (सेतो) ले विजयी शुरुवात गर्यो । उद्घाटन खेलमा दमकडा (सेतो) ले न्यु हिमाली युथ क्लबलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

दमकडा (सेतो) को जितमा रोशन गाहाले दुई गोल गर्दा किरन पिसीले एक गोल गरे । उता पराजित न्यु हिमालीका लागि सुनिल रानाले एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलमा दमकडा (सेतो) का रोशन गाहा प्लेयर अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत कार्तिक १६ गते सोमबारको पहिलो खेल १२ बजे सराई फुटबल क्लब र नव जागृति युथ क्लबबीच हुनेछ भने दोस्रो खेल २ बजे योङ ब्वाईज फुटबल क्लब र भगवती युथ क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष धिरेन थापाले बताए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तानसेन नगरपालिकाका प्रमुख अतिथी सन्तोष लाल श्रेष्ठ, तानसेन नगरपालिका वार्ड नम्बर ९ का
वार्ड अध्यक्ष राजेश कुमार अर्याल, तानसेन नगर खेलकुद विकास समिति तथा वार्ड नम्बर ४ का वार्ड अध्यक्ष हेमन्त राज शाक्य, तानसेन नगरपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्ष सोमनाथ अर्याल, प्रथम पुरस्कार प्रायोजक अच्युत पाण्डे लगायतले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७७,७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने कार्तिक २३ गते हुने कार्यक्रम संयोजक अंकित बञ्जाडेले जानकारी दिए ।

 

Post Comments