News तारकेश्वर र कीर्तिपुरको बराबरी
गोलनेपाल

ललितपुर । तारकेश्वर नगरपालिका र कीर्तिपुर नगरपालिकाले उपत्यकाव्यापी अन्तर पालिका खुला गोदावरी मेयर कप फुटबल प्रतियोगितामा बराबरी खेलेका छन् ।

गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शुक्रबार सम्पन्न खेलमा तारकेश्वर र कीर्तिपुरले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । यो नतिजासँगै समूह ‘डी’ मा तारकेश्वरले दुई खेलमा २ अंक जोडेको छ भने कीर्तिपुरले एक खेलमा १ अंक बनाएको छ ।

तारकेश्वरका लागि दुवै गोल रविन चौलागाईँले गरे । कीर्तिपुरका लागि सन्जोग महर्जन र सुगम भण्डारीले १–१ गोल गरे । खेलको १८औं मिनेटमा सन्जोगको गोलमार्फत कीर्तिपुरले अग्रता लिएको थियो । ४०औं मिनेटमा रविनले तारकेश्वरका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको इन्जुरी सामयमा रविनले व्यक्तिगत दोस्रो गोल गर्दा तारकेश्वर २–१ ले अगाडि बढ्यो । दोस्रो हाफको सुरुआतमै सुगमले खेललाई २–२ को स्थितिमा ल्याए ।

त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने । शुक्रबारको खेलमा सुसन बस्नेत घाइते भए । उनलाई मैदानबाटै एम्बुलेन्समा राखेर अस्पताल पु¥याइएको थियो ।

अब आइतबार हुने कीर्तिपुर र कोन्ज्योसोमबीचको खेलले यो समूहबाट सेमिफाइनलमा पुग्ने टोलीको छिनोफानो गर्नेछ । 

शनिबार च्यासल र झ्यालुन्टारमा गरी ४ खेल हुने 

शनिबार गोदावरी मेयर कपमा ४ वटा खेल हुनेछन् । दक्षिणकाली नगरपालिकाले चन्द्रागिरी नगरपालिकासँग विहान सवा ८ बजे गोदावरी रंगशालामा प्रतिस्पर्धा गर्दैछ । यो समूहबाट कागेश्वरी मनोहरा दक्षिणकाली र चन्द्रागिरीबाट पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

यसैगरी सवा १२ बजे दुई वटा खेल फरक फरक मैदानमा हुनेछ । समूह ए अन्र्तगत गोदावरी नगरपालिका र बाग्मती गाउँपालिकाबीच झ्यालुन्टार मैदानमा खेल हुनेछ भने यही समयमा ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाबीचको खेल च्यासल मैदानमा हुनेछ । यो समूहमा ललितपुर महानगर र गोदावरीको समान ४–४ अंक भएकाले दुबै टोलीलाई जितसँगै एक अर्काको खेलमा निर्भर हुनुपर्नेछ ।

Post Comments