News गुड मर्निङ्ग भेट्रान्स सेमिफाइनलमा
सुरज राना मगर

सालझण्डी । सहज जितका साथ गुड मर्निङ्ग भेट्रान्स यहाँ जारी प्रथम विश्व शान्ति भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बुधबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा गुड मर्निङ्गले फर्साटिकर भेट्रान्सलाई ३–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । गुड मर्निङ्गको जितमा नर कुमार मगर, बिजय रायमाझी र यम बहादुर बुचाले गोल गरे ।

खेलको म्यान अफ दि म्याच गुड मर्निङ्गका नर कुमार मगर घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख १८ गते बिहीबारको पहिलो सेमिफाइनल खेल दि लिजेण्डस भेट्रान्स र तिलोत्तमा भेट्रान्स बीच हुने कार्यक्रम संयोजक ओम छन्त्यालले जानकारी दिए ।

विश्व शान्ति युवा क्लब, सैनामैना–१०, सालझण्डीको आयोजना तथा सैनामैना नगरपालिका वार्ड नम्बर १० को कार्यालय संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले २५,५०० प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २० गतेका दिन हुनेछ ।

 

Post Comments