
सुनवल । बिग बुद्ध फुटबल क्लब, सुनवल यहाँ जारी प्रथम जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तेस्रो क्वाटरफाइनलतर्फ बिग बुद्धले शहरी प्रतिद्वन्द्वी सुनवल एफसीलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
बिग बुद्धको जितमा दुवै गोल पुर्ण बहादुर गुरुङ्ग (सबी) ले गरे । उनले खेलको ११औं र ४६औं मिनटमा दुई गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले । उता पराजित सुनवल एफसीका लागि ७०औं मिनटमा टिकाराज गुरुङ्गले एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् ।
खेलमा बिग बुद्धको जितमा निर्णायक बनेका पुर्ण बहादुर गुरुङ्ग नै खेलको म्यान अफ दि म्याच चुनिए ।
जेनिथ युथ क्लब, सुनवल–३, किर्तिपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष निकेश गुरुङले जानकारी दिए । फाइनल खेल माघ ३ गतेका दिन हुनेछ ।