काठमाडौं । नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा मंसिर १८ देखी संचालन भईरहेको ३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ को दोस्रो दिन तिन खेलहरु सम्पन्न भएका छन् ।
बुधवार भएको दिनको पहिलो खेलमा डिएभी स्कुल जावलाखेलले नेपाल पुलिस स्कुल सामाखुसीलाई २-० गोल अन्तरले हरायो। विजयि टिमका लागी खेलको ८औं मिनेटमा अनुज थापा र खेलको ३१औं मिनेटमा आर्नब मान क्षेत्रीले गोल गरे। म्यान अफ दि म्याच विजयी टिमका अनुज थापा घोषित भए ।
दोस्रो खेलमा पहिलो पटक प्रतियोगितामा भाग लिईरहेको नेपाल पुलिस स्कुल दाङले सागाँको स्थानिय विद्यालय ग्रेसल्याण्ड स्कुललाई ३-० गोल अन्तरले हरायो । एकतर्फी खेलमा विजयी टिमको लागी खेलको तेस्रो मिनेटमै नविन ओलीले खाता खोले। खेलको २८औ र ५७ औ मिनेटमा म्यान अफ दि म्याच देब बहादुर ओलीले गोल गरि अग्रता तेब्बर पारे।
तेस्रो तथा अन्तिम खेल गत संस्करणको विजेता सैनिक आवासिय महाविद्यालय भक्तपुर र यो बर्षको नवप्रवेशी बालउद्दार मा. वि बुढानिलकण्ठले गोलरहित बराबरि खेलेका छन । निकै रोमान्चक खेलमा दुवै टिमबाट गोल गर्ने धेरै अवसरहरु सिर्जना भए तापनि गोल हुन नसक्दा उपाधीको दावेदार टिम मानिएको सैनिक स्कुल १-१ अंक बाड्न बाध्य रह्यो । उत्कृष्ट खेल कौशन प्रदर्शन गरेको बालउद्दार मा. विका खेलाडी किस्मत राई म्यान अफ दि म्याच घोषित भए ।
बिहीबार तेस्रो दिन पनि तिन खेल खेलिनेछ । पहिलो खेल नेपाल पुलिस स्कुल धरानले बिकटेश्वर स्कुलको सामना गर्नेछ । दोस्रो खेलमा नाइटिङगल स्कुलले मनकामना स्कुलसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को खेलमा आयोजकको टिम NPS-Blue र ल्याब स्कुल आमने सामने हुनेछन ।