सुपौली । जनज्योति क्लब, डिंगरनगर यहाँ जारी स्व. बस बहादुर शेरपुन्जा पुन तथा दिलकुमारी शेरपुन्जा पुन स्मृति तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ जनज्योतिले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई शून्यका विरुद्ध २ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
जनज्योतिको जितमा सुरज आले मगर र रोहन राईले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि जनज्योति कै गोलकर्ता सुरज आले मगर चुनिए । प्रतियोगिता अन्तर्गत मंसिर १५ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र रेसुङ्गा युवा क्लब, दुर्गानगर बीच हुने खेल संयोजक अशोक पुनले जानकारी दिए ।
समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।