काठमाडौं । गत साता घरमै सम्पन्न साफ यु–२० च्याम्पियनसिपको उपविजेता बनेको नेपाली यु–२० फुटबल टोलीका सदस्यहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नगदसहित पुरस्कृत गर्ने भएको छ ।
एन्फाको हालै बसेको कार्यसमितिको बैठकले साफ यु–२० च्याम्पियनसिपको फाइनल खेलेका युवा खेलाडीहरुलाई जनही ५०–५० हजारका दरले पुरस्कृत गर्ने भएको हो । त्यस्तै एन्फाले प्रतियोगिताको टिकट बिक्रीबाट उठेको २० प्रतिशत रकम पनि खेलाडीहरुलाई दिने घोषणा गरेको छ ।
यो निर्णयसँगै खेलाडीहरुले थप १५,०४० रुपैयाँ पाउने भएका छन् । अर्थात समग्रमा एउटा खेलाडीले ६५,०४० रुपैयाँ पाउने एन्फाले जनाएको छ । त्यस्तै यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठलाई ५० हजार दिइने निर्णय भएको छ ।
त्यसैगरी सहायक प्रशिक्षकद्वय ससेन्द्र धिमाल र राजु सिंह महर्जनले जनही २५–२५ हजार पाउने भएका छन् । साथै टिम म्यानेजर रबिन खड्का तथा टिम फिजियोथेरापिस्ट अनिष बुढाथोकीले पनि जनही २५–२५ हजार पाउने एन्फाले जनाएको छ ।
स्मरण रहोस, गत साता भदौ १२ गते एन्फा कम्प्लेक्समा भएको साफ यु–२० च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशसँग ४–१ को हार बेहोर्दै उपविजेतामा चित्त बुझाउन बाध्य हुनुपरेको थियो ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान