
काठमाडौं । फिफा विश्वकप छनौटतर्फ समूह एचमा रहेको नेपालले युएई विरुद्धको दोस्रो लेगको खेलमा पनि समान अन्तरको हार बेहोरेको छ । पहिलो लेगतर्फ युएई कै घरेलु मैदानमा ४–० ले पराजित भएको नेपालले बिहीबार साउदी अरेबियाको दमाम शहरमा फेरि युएईसँग ४–० कै हार बेहोरेको छ ।
नेपालमाथि पूर्ण हावदी देखिएको युएईका लागि खेलको १२ र १४औं मिनटमा हरेब अब्दलाले लगातार दुई गोल गर्दै टोलीलाई शुरुवाती समय मै दुई गोलको स्पष्ट अग्रता दिलाएका थिए । अधिकांश समय दबाबमा रहेर खेलेको नेपाल विरुद्ध युएईले थप दुई गोल दोस्रो हाफमा गर्यो ।
५३औं मिनटमा अलि सालेहले युएईका लागि तेस्रो गोल गरे भने ७५औं मिनटमा हाजिम मोहम्मदले चौथो गोल गर्दै यूएईको सहज जित पक्का गरेका थिए । अब नेपालले समूह चरणको अन्तिम खेल ११ जुनका दिन सोही मैदानमा यमनसँग खेल्नेछ ।
यो नतिजापछि शतप्रतिशत जितका साथ युएई ५ खेलबाट १५ अंकका साथ शिर्ष स्थानमा छ । ९ अंकका साथ बहराईन दोस्रो स्थानमा रहँदा ३ अंक जोडेको यमन तेस्रो स्थानमा छ । अंकविहीन नेपाल पुछारमा छ । बहराईन र यमनले एक–एक खेल कम खेलेका छन् । र बिहीबार राती नै यमन र बहराईन पनि भिड्ने कार्यक्रम छ ।
(फाईल तस्विर)
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)